अरु सबैको पद समाप्त हुने र ओलीको पद कायमै रहने हुन्छ ?


विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको बताएका हुन् ।

ओलीले विधानविपरीत काम गर्दै आएको उल्लेख गर्दै नेता नेपालले उनलाई साथ दिनेहरू दास भएको दाबी गरे । उनले अरु सबैको पद समाप्त हुने र ओलीको पद कायम रहनै नसक्ने बताए ।

गलत प्रवृत्तिको ओली प्रवृत्तिबाट देशले मुक्ति पाओस् भन्ने चाहनाले पार्टीका नेता तथा कार्यकर्तामा आशा जगाउन एकताबद्ध अभियानमा अघि बढेको उनले बताए । उनले भने, ‘ओलीजीले पूरै अवैधानिक कदम चालेर पार्टी विधानविपरीत काम गर्नु भएको छ । विधानविपरीत काम गर्नेलाई साथ दिने दास हुन्, हामी दास होइनौं, ओलीजीको मुख हेरेर होइन माक्र्सवाद र लेनिनवादबाट प्रेरित भएर आन्दोलनमा अगाडि बढेका हौं ।’

उनले ओली अहिले पार्टीभित्र अल्पमतमा परेकाले अन्य केही उपाय छ कि भन्ने खोजीमा आफूहरु लागेको उनले बताए । उनले भने,‘केशरजंग रायमाझीले कम्युनिस्ट पार्टीलाई दरबारमा बुझाइदिएका थिए अब ओलीले दलाल पूँजीवादी वा भ्रष्टाचारी वा स्वदेशी विदेशी प्रतिक्रियावादीहरुलाई बुझाउने हो कि आउने दिनमा त्यो प्रस्ट हुन्छ।’