सभामुखद्वारा संसदका बिषयगत समितिकाबारेमा सभापतिहरुसँग छलफल


काठमाडौं । संसदका बिषयगत समितिको कामकारबाहीलाई प्रभावकारी बनाउने बिषयमा प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति सभापतिहरुसंग छलफल गरेका छन् ।

सोमबार भएको छलफलमा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले समितिको काम कारबाही र समस्या तथा अनुभवका बारेमा जानकारी लिएका हुन् । त्यसक्रममा समिति सभापतिहरुले समितिले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए ।

समितिको अहिलेसम्मको कामकारवाहीका बारेमा पनि जानकारी लिने काम भएको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

छलफलका क्रममा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले समितिको कार्य प्रभावकारी बनाउन निर्देशन पनि दिएका थिए । त्यस्तै छलफलमा १६ मध्ये १३ वटा बिषयगत समितिका सभापतिहरुको उपस्थिति रहेको थियो ।