नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न, सीमा सुरक्षा र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता


काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच काठमाडौमा १० औँ समन्वय बैठक सम्पन्न भएको छ ।

अघिल्लो नवौँ समन्वय बैठकका निर्णयहरूको प्रगति पुनरावलोकन गर्दै रणनीति, अपरेशनल र कार्यक्षेत्र गरी तीनवटै तहमा सहकार्य र शीघ्र सूचना आदानप्रदानमार्फत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षा नेतृत्वबीच संयुक्त प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरू, परराष्ट्र र गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने भारतको तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकृतहरू, काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधि र विदेश तथा गृह मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

नेपाल–भारत सीमा क्षेत्रको समग्र सुरक्षास्थिती शान्तिपूर्ण कायम गर्ने कार्यमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका युनिटहरूले प्रदर्शन गरेको उच्च व्यावसायिकता र सहकार्यको सराहना गरिएको थियो । त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाले आपसी सुरक्षा र सामाजिक सौहार्दतामा खडा गरेको चुनौती सामना गर्न संस्थागत सहकार्य सुदृढ गर्ने सहमति समेत भएको छ ।

बैठकमा दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचनाहरू हटाउन निरन्तर संयुक्त प्रयास जारी राख्ने निर्णय हुनुका साथै बाउन्ड्री वर्किङ ग्रुप र सर्भे अफिसियल्स कमिटीको निर्णय अनुसार सीमा स्तम्भहरूको निरन्तर मर्मत, सम्भार तथा पुनर्निर्माण गर्न फिल्ड तहमा समन्वय बढाउन दुवै पक्ष सहमत भएका छन्।

त्यसैगरी सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट, लागूपदार्थ नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न समयमै प्राप्त हुने सोसँग सम्बन्धित सूचनाको आदानप्रदानले प्रभावकारी नतिजा दिएको हुँदा यस्ता कार्यलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरिएको छ।

खुला सीमाको दुरुपयोग गरी हुने तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच र कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिहरूबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ ।

सीमा सुरक्षा चुनौतीहरूसँग जुध्न आधुनिक प्रविधि, विशेष तालिम सहायता विस्तार गर्ने र दुवै सुरक्षा निकाय बीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय गरिएको छ ।

परम्परागत सुरक्षा प्रणालीबाट आधुनिक र प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापनतर्फ रूपान्तरण हुन दशगजा क्षेत्रको निगरानीका लागि सिसीटिभी, प्रमुख सीमा नाकाहरुमा लगेज स्क्यानर र वाक–थ्रु मेटल डिटेक्टर राख्ने तथा आ–आफ्नो भू–भागमा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको छ ।

बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘Joint Swift Water Rescue ExerciseÚ’ सञ्चालन गर्ने सम्बन्धमा समेत छलफल भएको छ ।

त्यस्तै बैठकमा वैधानिक यात्रुको सहजताका लागि सीमा नाकाहरूमा सहायता कक्ष विस्तार गर्ने, मैत्रीपूर्ण खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वहरूमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी द्विपक्षीय विश्वास र सौहार्दता अभिवृद्धि गर्ने समेत सहमति भएको छ ।

साथै सन् २०१२ देखि पालैपालो दुवै देशमा आयोजना हुँदै आएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच द्विपक्षीय नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा आयोजना गरिने सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिएका छन् ।