कांग्रेस महामन्त्री राणाको प्रतिबद्धता : पार्टी रूपान्तरण र संगठन सुदृढीकरणमा जुट्छु


काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित उदयशमशेर राणाले आफूलाई अमूल्य मत प्रदान गरी निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।

महामन्त्रीमा निर्वाचित भएपछि धन्यवाद व्यक्त गर्दै राणाले आफूलाई विश्वास गरी सुम्पिएको जिम्मेवारी पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्पका रूपमा व्याख्या गरेका छन्। लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सबैप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन्।

“नेपाली कांग्रेसको सुन्दरता नै यही हो—प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता,” उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

राणाले सबै मिलेर नेपाली कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।