काठमाडौँ । गोरखाको आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीको जलसतह खतराको तहभन्दा माथि पुगेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ७ः५० बजे आरुघाटमा नदीको सतह ५.१ मिटर पुगेको थियो । पछिल्लो समय जलसतह केही घटे पनि निरन्तर घटबढ भइरहेकाले जोखिम कायमै रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका बाढीविद् विनोद पराजुलीले बूढीगण्डकी नदीको बहावमा आउने परिवर्तनका कारण आसपासका क्षेत्रमा जोखिम रहिरहेको बताए । नदी थुनिने र पुनः खुल्ने क्रमले पानीको सतहमा उतारचढाव आएको हुन सक्ने उनको अनुमान छ ।
बूढीगण्डकीको अधिकांश भाग साँघुरो रहेकाले जलसतह बढेमा थप क्षति हुन सक्ने उनले बताए । जोखिमलाई ध्यानमा राख्दै त्रिशूली नदीको दोभानसम्मका बासिन्दालाई नदी किनारबाट टाढा रहन र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरिएको छ ।
यसैबीच, बेनीघाटभन्दा तल त्रिशूली नदी क्षेत्रमा भने तत्काल ठूलो जोखिम नरहेको महाशाखाको अनुमान छ । बूढीगण्डकी त्रिशूलीमा मिसिने भएकाले त्रिशूलीको जलसतह केही बढ्न सक्ने भए पनि हालको अनुमानअनुसार करिब एक मिटर मात्रै बढ्ने पराजुलीले बताए ।
नदीको जलसतहमा जुनसुकै बेला परिवर्तन आउन सक्ने भएकाले बाढीको अवस्था निरन्तर निगरानीमा राखिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया