मेरो नाम जोडेर प्रचार गरिएका सूचीमा विश्वास नगर्नुहोस्ः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन् ।

केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु भएसँगै थापाले विभिन्न उम्मेदवारको सूची आफ्नो नामसँग जोडेर प्रचार गरिएकोप्रति ध्यानाकर्षण गराउँदै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका हुन् ।

उनले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वस्थ र मर्यादित बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि अफवाह तथा भ्रममा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्न अपिल गरेका छन् ।

‘यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले भनेका छन्, ‘मेरो नाम जोडेर आएको सूची भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहोला ।’

उनले पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

यसैबीच, प्राविधिक कारणले एक दिन ढिलो गरी मतदान सुरु भएको उल्लेख गर्दै थापाले निर्वाचनमा भएको ढिलाइबाट महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् । उनले सबै प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।