अस्ट्रेलियाले बाढी प्रभावितका लागि थप १५ मिलियन डलर दिने, सिधा हवाई सम्पर्क स्थापनाका विषयमासमेत छलफल


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकि विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।

मेलबर्नमा बिहीबार भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका हुन् ।

भेटवार्तामा दुवै मन्त्रीहरूले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे । लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सुदृढ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा उहाँहरूले जोड दिए ।

सो अवसरमा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन् ।

मन्त्री वङले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि प्रतिबद्ध गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा उक्त रकम थप हुनेछ। नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका कार्यमा केन्द्रित रहने जनाइएको छ।

मन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त शीघ्र तथा उदार मानवीय सहयोगप्रति आभार व्यक्त गरे । संकटका समयमा प्राप्त यस्तो ऐक्यबद्धताले नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन सद्भाव तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रतिबिम्बित गरेको उनले बताए ।

भेटवार्तामा जलवायु परिवर्तनबाट नेपाल र प्रशान्त क्षेत्रका मुलुकहरूमा परेको साझा जोखिमका विषयमा पनि छलफल भएको थियो। मन्त्री खनालले अन्तर्राष्ट्रिय तहमा अस्ट्रेलियाको नेतृत्वदायी भूमिकाको उपयोग गर्दै, विशेषगरी आगामी कोप–३१ को सन्दर्भमा, हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई विश्वसामु थप प्रभावकारी रूपमा उजागर गर्न आग्रह गरे ।

त्यसैगरी, नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत दुई पक्षबीच कुराकानी भएको थियो। प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको बताउँदै प्राथमिकताका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।