काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं उद्योगी विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य आर्थिक विकासलाई राजनीतिको केन्द्रमा राख्दै देशको आर्थिक रूपान्तरण अघि बढाउनु रहेको बताएका छन् ।
महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै चौधरीले देशले अहिले युवा नेतृत्व र आर्थिक समुन्नतिको स्पष्ट दृष्टिकोण भएका नेताको खोजी गरिरहेको उल्लेख गरे । उनले कांग्रेसले युवालाई नेतृत्वमा स्थापित गर्दै आर्थिक रूपान्तरणको नयाँ अध्याय सुरु गर्नुपर्ने धारणा राखे ।
चौधरीले आफूले यसअघि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउनु कसैप्रतिको वैरभावका कारण नभएको स्पष्ट पारे । जेनजी आन्दोलनले दिएको परिवर्तनको सन्देश, जनआकांक्षाप्रतिको ऐक्यबद्धता र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धताका कारण आफू विशेष महाधिवेशनमा सहभागी भएको उनको भनाइ छ ।
उनले पार्टीमा युवा नेतृत्व स्थापित गर्दै जनअपेक्षाअनुसारको कांग्रेस निर्माण गर्ने उद्देश्यले विशेष महाधिवेशनलाई सफल बनाउन आफू पूर्ण रूपमा समर्पित भएको बताए ।
नेपालमा राजनीतिक परिवर्तनका विभिन्न चरण पूरा भए पनि आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको चौधरीले बताए । यही अवस्थालाई ध्यानमा राखेर आफू कांग्रेस सभापति गगन थापासँग आर्थिक रूपान्तरण र विकासका एजेन्डामा निरन्तर सहकार्य गर्दै आएको उनले उल्लेख गरे ।
चौधरीले २०४८ देखि २०५१ सालसम्म कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको आर्थिक सुधारलाई नेपालको अर्थतन्त्रका लागि ऐतिहासिक र दूरगामी महत्वको कदमका रूपमा स्मरण गरे । उदारीकरण, निजी क्षेत्रको विस्तार र आर्थिक सुधारमार्फत त्यसबेला नेपालको अर्थतन्त्रमा नयाँ सम्भावनाका ढोका खुलेको उनको भनाइ छ ।
त्यतिबेला सरकारका तर्फबाट महेश आचार्य र डा. रामशरण महतले आर्थिक सुधारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै चौधरीले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा आफूले निजी क्षेत्रबाट आर्थिक उदारीकरणलाई संस्थागत गर्न भूमिका निर्वाह गरेको बताए । तर ती सुधारलाई समयअनुसार थप गहिरो र प्रभावकारी बनाउन नसक्दा नेपालले आर्थिक विकासमा अपेक्षित गति लिन नसकेको उनले बताए ।
चौधरीले बीपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सुवर्णशमशेर जबराले निर्माण गरेको आर्थिक विकासको जगलाई थप समृद्ध बनाउनु अहिलेको आवश्यकता रहेको बताए । उनीहरूको आर्थिक विकाससम्बन्धी सपना साकार पार्न आफूले हरसम्भव प्रयास गर्ने उनको प्रतिबद्धता छ ।
चौधरीले राजनीतिक नेतृत्वको दूरदृष्टि र त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सक्ने आर्थिक विज्ञ तथा नीति–निर्माताबीच बलियो र संस्थागत सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
आफ्नो उम्मेदवारी केवल पद प्राप्तिका लागि नभएको उल्लेख गर्दै उनले आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउने, युवाका आकांक्षा सम्बोधन गर्ने र आर्थिक रूपान्तरणमार्फत देश विकासको नेतृत्व कांग्रेसले गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमा पुष्टि गर्ने उद्देश्य रहेको बताए ।
‘राजनीतिका लागि राजनीति’ गरेर मात्रै देशमा रूपान्तरण सम्भव नहुने भन्दै चौधरीले आर्थिक समुन्नतिका स्पष्ट योजनासहित अघि बढ्नुपर्ने बताए । “आर्थिक समुन्नतिको जिम्मेवारी सम्हाल्न म तयार छु,” उनले भने ।
उनले आफ्नो अभियानमा महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग, सुझाव र मतका लागि आग्रह गर्दै आर्थिक रूपान्तरण, सुशासन र नयाँ पुस्ताको आकांक्षालाई केन्द्रमा राखेर कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउन इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया