काठमाडौँ । रसुवामा गत भदौ १० मा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : बिल्डिङ ब्याक डिफरेन्टली फर द फ्युचर’ प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आगामी आर्थिक वर्षमा वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
बाढीबाट जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा व्यापक क्षति पुगेकाले उद्योग क्षेत्र आर्थिक वृद्धिको प्रमुख बाधक बन्ने विश्व बैंकले जनाएको छ। पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, औद्योगिक गतिविधि तथा वस्तुको आवागमन प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, व्यापार, यातायात, पर्यटन र वित्तीय गतिविधिमा आएको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने अनुमान गरिएको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जीविकोपार्जनमा भने ठूलो असर पर्ने विश्व बैंकले जनाएको छ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिसलेनले रसुवा बाढीले ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याएको बताए।
उनले विपद्पछि नेपाललाई पूर्वाधार विकासबारे नयाँ ढंगले सोच्ने अवसर समेत प्राप्त भएको उल्लेख गर्दै कनेक्टिभिटी, ऊर्जा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा लगानी गर्दा उत्थानशीलता र वैकल्पिक व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताए।
बाढीपछिको पुनर्निर्माण क्षतिग्रस्त संरचना पुरानै अवस्थामा फर्काउनेमा मात्र सीमित गर्न नहुने विश्व बैंकको सुझाव छ। बहुप्रकोप जोखिमको नयाँ मूल्याङ्कन, पूर्वाधार निर्माणको स्थान र डिजाइनमा सावधानी तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण संरचनामा वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया