काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले मधेश प्रदेशस्थित सीमा नाकाको अनुगमन गर्दै सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
बिहीबार मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार अनुगमनका क्रममा उनले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा एवं समसामयिक विषयमा भइरहेका कामकारबाहीबारे जानकारी लिएका थिए।
उनले सीमा क्षेत्रमा कार्यरत कमान्डरलाई अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।
सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापको रोकथाम तथा नियन्त्रणका लागि समयमै योजना बनाएर सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणको कार्यमा प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्न उनले निर्देशन दिए।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई समेत प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजानुपर्ने बताए।
सीमामा बसोबास गर्ने स्थानीय बासिन्दासँग सुमधुर सम्बन्ध कायम राख्दै सीमा वारपार गर्ने आम नागरिकको सहजतालाई समेत ध्यानमा राखेर काम गर्न उनले निर्देशन दिए।
वर्षायामलाई मध्यनजर गर्दै बाढी तथा डुबानजस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्नसमेत उनले निर्देशन दिएका छन्।
सोही क्रममा महानिरीक्षक पौडेलले धनुषाको सीमा क्षेत्रमा पर्ने जटही नाकाको निरीक्षण भ्रमण गरेका थिए।
उनले सो क्षेत्रका स्थानीय बासिन्दासँग भेटघाट गरी सीमा अवस्था तथा शान्ति सुरक्षालगायतका विषयमा जानकारी लिएका थिए।

प्रतिक्रिया