काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने कार्य नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउप्रति असन्तुष्टि जनाएका हुन् । उनले सरकारले सुरक्षा खतराको कारण देखाएर पक्राउ गर्नुभन्दा सम्बन्धित व्यक्तिको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताए ।
‘सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने । सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्यो नि,’ उनले भने ।
प्रचण्डले सरकारले एउटा व्यक्तिलाई पक्राउ गरेर अरूलाई त्रसित पार्न खोजेको हो भने त्यसको परिणाम गम्भीर हुने बताए । उनले यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रहसमेत गरे । ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ उनले भने ।
पूर्वप्रधानन्यायाधीश जबरालाई वास्तविक रूपमा सुरक्षा खतरा रहेको भए निवासमै सुरक्षाकर्मी थपेर सुरक्षा दिन सकिने उनको भनाइ थियो ।
यसैबीच, प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्रीले अहिलेको परिस्थितिमा बोल्नुपर्ने विषय नै उठाएको र त्यो स्वाभाविक रहेको बताए ।

प्रतिक्रिया