कांग्रेसमा सदस्यता वितरणमा कडाई, सदस्यता लिन १८ वर्ष पुग्नैपर्ने


काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई पार्टी सदस्य बन्न नदिने व्यवस्था कार्यान्वयनमा कडाइ गरेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका सुजल चापागाईंको उमेर १८ वर्ष नपुगेको पाइएपछि उनको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित गरिएको हो ।

कांग्रेस विधान, २०१७ को ११ औँ संशोधनसहितको धारा ४ को उपधारा १ (क) (१) मा पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ।

पार्टीका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार चापागाईंको नागरिकता विवरणमा आगामी माघ १८ गते १८ वर्ष उमेर पूरा हुने देखिएको छ । त्यसपछि उनले चाहेमा मात्र पार्टी सदस्यता कायम गर्न सक्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले अन्य जिल्लाका वडा तहका निर्वाचनमा पनि १८ वर्ष उमेर पूरा नगरेका व्यक्ति निर्वाचित भएको पाइएमा उनीहरूको हकमा समेत यही प्रक्रिया लागू हुने स्पष्ट गरेको छ ।