झापा । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रमाणपत्र तहको नर्सिङ कलेज सञ्चालनको तयारी सुरु भएको छ। आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध रहेको भन्दै अस्पतालले आगामी शैक्षिक वर्षदेखि कक्षा सञ्चालन गर्ने लक्ष्यसहित सम्बन्धनको प्रक्रिया अघि बढाएको हो।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले २०८२ भदौ ५ गते नर्सिङ कलेज सञ्चालनसम्बन्धी निर्णय गरेको थियो। कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले पनि नर्सिङ कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिसकेको अस्पतालले जनाएको छ।
प्रस्तावित कलेजका लागि अस्पतालको पुरानो भवन प्रयोग गर्ने तयारी गरिएको छ। नयाँ भवनबाट अस्पतालको सेवा सञ्चालन हुन थालेपछि खाली रहेको पुरानो भवनमा १४ वटा कोठा, चारवटा प्रयोगशाला र पुस्तकालय रहेका छन्। विद्यार्थीका लागि होस्टल निर्माण गर्ने योजना पनि अस्पतालको छ।
अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत सुजता पौडेलका अनुसार अस्पतालमा १२४ भन्दा बढी शय्या र ९० जना नर्सिङ जनशक्ति रहेका छन्। प्रस्तावित नर्सिङ कार्यक्रमका लागि १३ जना नर्सिङ जनशक्ति छुट्याउने तयारी गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले निर्धारण गरेको कोटाअनुसार विद्यार्थी भर्ना गर्ने अस्पतालको योजना छ।
सरकारी अस्पतालमै नर्सिङ शिक्षा सञ्चालन हुँदा पूर्वी नेपालका विद्यार्थीलाई सहज हुने पौडेलले बताइन्। निजी संस्थामा चर्को शुल्क तिरेर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारीस्तरबाट कार्यक्रम सञ्चालन महत्वपूर्ण हुने उनको भनाइ छ।
उनका अनुसार नर्सिङ कलेज सञ्चालनले आवश्यक नर्सिङ जनशक्ति उत्पादन गर्न र जनशक्ति पलायन रोक्नसमेत सहयोग पुग्न सक्छ।
कलेज सञ्चालनका लागि सीटीईभीटीको प्रक्रिया अघि बढाउने क्रममा गत साउन २१ गते अस्पतालको प्रतिनिधिमण्डलले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेट गरेको थियो। प्रतिनिधिमण्डलमा यस क्षेत्रका संघीय सांसद प्रकाश पाठकसहित अस्पतालका प्रतिनिधि सहभागी थिए।
टोलीले सीटीईभीटीले तोकेको शुल्क लिएर पूर्वाधार तयारीको अनुमति दिन तथा स्थलगत निरीक्षणको प्रक्रिया अघि बढाउन मन्त्रीसमक्ष आग्रह गरेको थियो। सीटीईभीटीको उपाध्यक्ष पद रिक्त रहेकाले नियुक्तिपछि बोर्ड बैठकबाट प्रस्ताव अघि बढाउने विषयमा समेत छलफल भएको पौडेलले बताइन्।
शिक्षामन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएको र सीटीईभीटीको उपाध्यक्ष नियुक्त भएपछि बोर्ड बैठकबाट प्रस्ताव पारित गरी आवश्यक प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्बाट निर्णय गराउने आश्वासन पाएको अस्पतालले जनाएको छ।
प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले पनि भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनका लागि शिक्षा तथा खेलकुदमन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गर्दै पहल गरिरहेकी छन्। आवश्यक सरकारी निर्णयका लागि सहजीकरण गर्ने प्रतिबद्धता उनले जनाएकी छन्।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले नयाँ भवनबाट सेवा सञ्चालन भएपछि खाली रहेको पुरानो भवनलाई नर्सिङ कलेजका रूपमा उपयोग गर्न सकिने बताए।
उनका अनुसार कक्षाकोठालगायत आवश्यक संरचना पुरानो भवनबाटै व्यवस्थापन गर्न सकिनेछ। अस्पतालमा आवश्यक भौतिक पूर्वाधार र जनशक्ति रहेकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको विश्वास छ।
सम्बन्धन तथा आवश्यक प्रक्रिया पूरा भए आगामी शैक्षिक वर्षदेखि भद्रपुर प्रादेशिक अस्पतालमै प्रमाणपत्र तहको नर्सिङ अध्ययन सुरु गर्ने अस्पतालको लक्ष्य छ।

प्रतिक्रिया