उपत्यकामा आन्दोलन चर्काउन राजावादीद्वारा कार्यक्रम घोषणा
काठमाडौं । राजसंस्था पुनःस्थापनाको लागि नवराज सुवेदीको संयोजकत्वमा गठित जनआन्दोलन समितिले उपत्यकामा आन्दोलनलाई चर्काउने गरि कार्यक्रम घोषणा गरेको छ ।
समितिका संयोजक सुवेदीको अध्यक्षतामा आइतबार बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बैठकमा सुवेदीले यो जनआन्दोलन राजसंस्था स्थापनाको निमित्त अन्तिम आन्दोलन हुने र आन्दोलनले नेपाललाई हिन्दू अधिराज्य स्थापनाको निमित कोषेढुंगा सावित हुने बताए ।
बैठकले बैशाख २९ गते उपत्यकास्तरीय सबै राजसंस्था पक्षधर दल तथा अभियान लगायत सबै पक्षधरहरुको बैठक वस्ने छ । त्यसैगरी जेठ ६ गते राजसंस्था पक्षधर प्रबुद्ध भेला गरिने, जेठ ८, ९, १०, ११, गते साँखुबाट सुरु गरि चाँगुनारायणमा समापन गर्नेगरि जनजागरण अभियान संचालन हुने र सोही समयमा महत्त्वपूर्ण स्थानहरुमा कोणसभा समेत गरिने छ । त्यसैगरि काठमाडौंमा जेठ १३ गते बृहत युवाभेला हुने र जेठ १५ बाट उपत्यकास्तरीय अनिश्चितकालीन आन्दोलन सुरु हुने कार्यक्रम रहेको राप्रपा नेता जनकराज पाठकले जानकारी दिए ।
बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्टलगायत विभिन्न राजावादी संगठनहरुका नेताहरुको उपस्थित थियो ।
बैठकमा जनआन्दोलन समितिका सदस्य एवं राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, राजेन्द्र गुरुङलगायत राप्रपा नेपालका नेताहरु राजीव पराजुली, राजाराम वर्तौलालगायत राष्ट्रिय शक्तिका विराज विष्ट, श्याम केसी लगायतको उपस्थित थियो ।
हिन्दूवादी चर्चित पण्डित रामकृष्ण उपाध्याय, नेपालका लागि नेपाली नागरिक बचाउ अभियान, देशभक्त अभियान, मातृभूमि नेपाल, विश्वहिन्दु महासंघ, सनातन युवामञ्च लगायतको उपस्थित रहेको थियो ।