भारत-पाकिस्तान तनावको असरः सीमा क्षेत्रबाट हुनसक्ने घुसपैठ रोक्न सशस्त्र प्रहरीको गस्ती, सहरी क्षेत्रमा निगरानी
काठमाडौं । भारत पाकिस्तानबीच तनाव बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीव्रता दिएको हो ।
यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ सुरु गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ, भने बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको उनले बताए ।
सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र जाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको छ । सम्भावित संकित स्थानहरुमा निगरानी एवं जाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेको छ ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाइ गरिएको छ ।
तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत गरिएको सहप्रवक्ता थापाले बताए । यसैगरी शहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा पनि निगरानी बढाइएको छ ।