पर्वतमा युवा संघको अधिवेशनलाई लिएर दुई पक्षबीच झडप
पर्वत । मंगलबार धनुषामा नेकपा एमालेको अधिवेशनमा कुटाकुट भएको भोलिपल्ट बुधबार पर्वतमा युवा संघको अधिवेशनलाई लिएर दुई पक्षबीच झडप भएको छ ।
एमालेको पार्टी कार्यालयमा बुधबार दुई पक्षबीच झडप भएको हो । झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवं युवा संघका नेता अर्जुन पौडेलको टाउको फुटेको छ ।
अधिवेशन आज गर्ने र नगर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद बढेपछि झडप भएको हो । पर्वतमा लामो समयदेखि राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पूर्वमन्त्री पदम गिरीको समूह छ । झडपमा गिरी समूहका सदस्यले तिमिल्सिना समूहका पौडेलको टाउको फुटाएका हुन् ।
बुधबार एमाले पार्टी कार्यालयमा एउटा पक्षले युवा संघको अधिवेशन आयोजना गरेको थियो । तर तिमिल्सिना पक्षले अधिवेशन केही समय सार्नुपर्ने माग गर्दै आएको थियो ।