लोकलाई नै लज्जित पार्ने गरी सरकारले कुलमान घिसिङलाई हटायो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको दुई तिहाइको बेलुन फुटिसकेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले हरेक नियुक्तिमा बिचौलिया समूह हावी भएकोबाट त्यसको पुष्टि भएको बताएका हुन् ।
उनले यो सरकार सच्चिन नसक्ने बताए । उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिसमेत गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
उनले भने, ‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नुभएको छैन। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु ।’
त्यसैगरी प्रचण्डले सरकारले लोकलाई नै लज्जित पार्नेगरी विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको बताए ।
उनले भने, ‘एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईंले दर्जनभन्दा बढी निर्णय गर्नुभयो । महिनौँसम्म मिहिनेत गर्नुभयो । एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएरै छाड्नुभयो । ठूलो बहादुरी काम गर्नुभयो । कुलमानलाई समर्थन गरेको झोँकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गर्ने ठाउँमा पुग्नुभयो ।’