राजावादी आन्दोलनमा समातिएको भनेर यति ‘हेभी ह्यान्डेड’ हुन जरूरी छ र ?
-नारायण गाउँले
हूलमूलमा रक्सी र चुरोट चोर्ने ६ जना विद्यार्थीहरू अझै हिरासतमै रहेछन् । तिनमाथि गम्भीर र जटिल अनुसन्धान गर्नपर्ने हुनाले नेपाल प्रहरीले अदालतबाट म्याद थपेको थप्यै रहेछ ।चोरेको भिडियो र फोटो छ । चोरेको हो पनि भनेकै छन् । पछुतो र माफी पनि मागेकै होलान् । १८–१९ वर्षमै तिनलाई राजनीतिक दाउपेच र सत्तापलट गर्ने खुरापाती बुद्धि पक्कै नहोला । ती गुण्डा या पटके चोर पनि होइनन् । भीडको लहड़मा त्यस्ता घटना घट्छन् ।
प्रहरीदेखि वकिल र अदालतसम्मको यत्रो साधनस्रोत खर्च गरेर अनुसन्धान गर्नुपर्ने के नै होला र ? के यो सङ्गठित र सङ्गीन अपराध नै हो र ? आगो लगाउनेहरूलाई त ठीकै हो तर यी चोरलाई चारपाँच वर्ष जेल नै पठाउने विचार सरकारको रहेछ । नेताका पक्षमा त बरु फाट्टफुट्ट बोल्नेहरू हुने रहेछन्, यिनका पक्षमा बोल्ने त अपराधी नै हुने भयो ! म पनि बोलेको छैन है ।
यस्ता ‘शप–लिफ्टिङ्’ केस त ‘सिभिल अफेन्स’ अन्तर्गत एकै दिनमा सल्टिन पर्ने हो । नगरपालिका या प्रहरी कार्यालयले सामान असूलऊपर गर्ने, नसीहत दिने र जरीवाना तिराएर अभिभावकको जिम्मा दिई घर पठाउन सकिने केस हुन् । चोरेको होइन भन्यो, जरीवाना तिर्न मानेन भने बल्ल थप कारबाही गर्न सकिन्छ । यी जेल गएपछि मात्रै भाटभटेनीले न्याय पाउने हो र ? यत्रो खर्च गरेर अन्तिममा हुने के हो र ?
हत्या र बलात्कारका मुद्दामा अदालतसँग पेशी तोक्ने समय छैन तर यस्ता मुद्दा हेरेको हेर्यै । राजावादी आन्दोलनमा समातिएको भनेर यति ‘हेभी ह्यान्डेड’ हुन जरूरी छ र ? धन्न परीक्षाचाहिँ हिरासतबाटै भए पनि दिन पाएछन् !