यो सरकारले जनताको समस्या समाधान गर्ला भनेर सोचेकै छैनः झलानाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारमा दलाल पूँजीवादी पार्टीहरु रहेकाले जनताको हितमा नीति तथा कार्यक्रम नबनेको बताएका छन् ।
शनिबार नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको समस्या समाधान नगर्ने बताएका हुन् ।
उनले दुई पार्टीको सरकार दलाल पूँजीवादीको भएको आरोप लगाए । उनले भने, ‘अहिले दुई वटा पार्टीको सरकार छ एउटा पार्टी दलाल पूँजीवादी पार्टी हो । त्यो पार्टीले जनताको समस्या समाधान गर्ला भनेर आम जनताले सोचेकै छैन । हिजो पनि छैन, आज पनि छैन । दोस्रो ठूलो पार्टी नेकपा एमालेले ल्याएको नीति कार्यक्रम हो तर यो नीति कार्यक्रममा कांग्रेसको नीति र कार्यक्रम भन्दा भिन्न केही छैन । यो दुःखद् कुरा हो ।’
उनले सरकारमा भएको पार्टीले ल्याएको नीति कार्यक्रमबाट आफूहरु फरक बाटो हिँड्नुपर्नेमा स्पष्ट भएको पनि बताए । उनले समाजवादी व्यवस्था नआएसम्म आवश्यकता पुरा नहुने भन्दै समाजवादी क्रान्ति आजको आवश्यकता रहेको बताए ।