अदालतको अवहेलना मुद्दामा गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापासँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । वैशाख ११ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायका ५२ जना पदाधिकारीको मुद्दामा मोलतोल गरिएको आरोप लगाएका थिए ।
थापाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै उनीहरू रिट दर्ता गराएका थिए ।