शिक्षक महासंघले भन्यो-सरकारद्वारा संरक्षित भिजिलान्तेले स्थिति भड्काए, १२ शिक्षक गम्भीर
काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको नयाँबानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएकामध्ये १२ शिक्षकको अवस्था चिन्ताजनक रहेको बताएको छ ।
सोमबार विज्ञप्ति जारी गरी महासंघले घाइते ६२ शिक्षक–कर्मचारीमध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।
महासंघले शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक–कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको उल्लेख गरेको छ ।
महासंघले भनेको छ, ‘हामी सरकारबाट भएको यो ज्यादतीको घोर निन्दा तथा भत्र्सना गर्दछौं । बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक – कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ । हामी सबै घाइते साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौं ।’