काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडकको एकैपटक शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गरेका हुन् ।
सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।
हाल संघीय सरकार मातहत ८० वटा राष्ट्रिय राजमार्ग छन् । तिनको निर्माण, सञ्चालन, मर्मत सम्भार र व्वस्थापन गर्ने काम संघीय सरकारले गरिरहेको छ ।
कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले देश विकासमा महत्वपूर्ण टेवा पुग्ने लक्ष्यसाथ एकीकृत रुपमा निर्वाचन क्षेत्र विकास गर्ने लक्ष्य राखिएको बताए । प्रधानमन्त्री ओलीले सरकारका काम समयमा पूरा नहुने गरेको भन्दै त्यस कार्यको अन्त्य हुनुपर्ने बताए ।

प्रतिक्रिया