काठमाडौं । भारतमा कोरोना संक्रमणको दर बढेपछि केही दिन अघि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर पठाएर भिडभाड हुन नदिन र त्यसमा कडाई गर्न निर्देशन दियो । त्यसको भोलिपल्ट अर्थात् बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत सबै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी होली पर्वलाई घरभित्रै सीमित गर्न र भिडभाड नगर्न आग्रह गरे ।
भिडभाड गरेको पाइए र सार्वजनिक यातायात र स्थानमा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी दिइयो । जसका कारण अहिले फेरि गतवर्षको जस्तो मानिस आतंकित भएका छन् । कतै सरकारले फेरि लकडाउन गर्ने हो कि भनेर ।
स्वास्थ्य मन्त्रालयले त रात्रिकालीन व्यवसाय राति नौ बजेसम्म खोल्न दिन सिसीएमसीलाई आग्रह गरिसकेको छ । तर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकको भिड देख्दा चाहिँ अचम्म लाग्दो थियो । के होली खेल्दा कोरोना सर्ने र फुटबल हेर्दा नसर्ने हो ? भन्दै कतिपयले सरकारको कदमको आलोचना गरेका छन् ।



प्रतिक्रिया