संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह नलिनु महाभूलः पूर्वराष्ट्रपति यादव


जनकपुरधाम । पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताएका छन् । शुक्रबार जनकपुरमा ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसंग्रह’को लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले मुलुकमा हुलमुलको अवस्थाले लोकतन्त्रमाथि ग्रहण लागेको बताएका हुन् ।

बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनु पर्ने राष्ट्रपतिले हतार गरी संसद् विघटन गरी गल्ती गरेको बताए । संविधान रक्षा गर्ने राष्ट्रपतिले ‘कुलिङ पिरियड’ लिएर अगाडि बढ्नु पर्ने समयमा प्रधानमन्त्रीको असंवैधानिक कदममा हस्ताक्षर गरेको उनले बताए ।

उनले प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको बताए । संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह नलिनु महाभूल भएको उनको भनाई थियो ।

यादवले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको उन्मादमा संविधानको धारा नै उल्लेख नगरी संसद् विघटन, निर्वाचनको घोषणा गरी संवैधानिक निकाय र प्रशासन कब्जामा लिएको आरोप लगाए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीले प्राप्त उपलब्धिलाई समाप्त गरी चुनावको मिति तोकेर लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए ।