भारतलाई नेपालको जवाफी पत्रः नेपाली भू–भागमा नेपालीको आवतजावत स्वाभाविक
काठमाडौं । दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न तथा प्रवेशबारे जानकारी दिन दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले नेपालीलाई बाधा–अवरोध नगर्न अनुरोध गरेको हो । गृह मन्त्रालयको निर्देशनपछि मङ्गलबार धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
दार्चुला प्रशासनले भारतलाई लेखेको पत्रमा ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा भएको सुगौली सन्धीको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य र प्रमाणबाट काली (महाकाली) नदी र सो पूर्वका लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भू–भाग रहेको भन्ने प्रष्ट भएकाले यी नेपाली भू–भागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा बाधा–अड्चन नगर्न भनिएको छ ।’
यसअघि गत असार ३० गते भारतको धार्चुला प्रशासनले कालापानी, लिम्पियाधुरालगायत क्षेत्रमा नेपालीहरू अवैध रुपमा चोरी–छिपी प्रवेश गरिरहेको भन्दै ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न तथा प्रवेशबारे जानकारी गराउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो । पत्रमा भनिएको थियो, ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट र समूह अवैध रूपमा चोरी–छिपी सीमा पार गर्ने कोशिस गरिरहेको हामीलाई विशिष्ट सूत्रबाट जानकारी मिलेको छ । मिडियाको ध्यानआकृष्ट गर्न र दुवै देशलाई समस्यामा पार्न यस्तो प्रयास भइरहेको छ । त्यसैले तपाईंको स्तरमा त्यस्तो कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त हामीलाई खबर गर्ने कष्ट गरिदिन अनुरोध छ ।