काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ ।
साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ । हिन्दू धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।
साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । यस्तै, साउनको पहिलो सोमबार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ ।
कोरोना भाइसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथको मन्दिर सोमबार पनि नखुल्ने भएको हो । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजा पाठ गर्न पशुपति क्षेत्र विकास कोषल आग्रह गरेको हो । यसैबीच पशुपति क्षेत्र विकास कोषले चाँडै नै दर्शनार्थीका लागि मन्दिर खुलाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया