एक लाख २२ हजार ४ सय १९ थान मुद्दा फछर्यौट हुन बाँकी


काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष २०७६/०७७ मा कुल लगतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट भएको जानकारी दिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आर्थिक वर्ष २०७६/०७७ मा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गरी कुल २ लाख २४ हजार ३ सय ४६ लगत कायम भएकोमा १ लाख १ हजार ९ सय २७ थान मुद्दा फछर्यौट भएको जानकारी दिएका हुन् । जुन कुल लगतको ४५ दशमलव ४३ प्रतिशत हुन आउँछ ।

निरौलाले आर्थिक वर्ष २०७५/०७६ बाट जिम्मेवारी सरी आएका १ लाख ८ हजार १ सय ६४ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएका १ लाख १६ हजार १ सय ८२ गरी जम्मा वार्षिक लगत २ लाख २४ हजार ३ सय ४६ कायम भएकोमा १ लाख १ हजार ९ सय २७ थान मुद्दा फछर्यौट भई आर्थिक वर्षको अन्त्यमा १ लाख २२ हजार ४ सय १९ थान मुद्दा बाँकी रहेको बताए ।

उनले कुल लगतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट भएको र वर्ष २०७६/०७७ मा निर्धारित मुद्दा फछर्यौटको वार्षिक लक्ष्य १ लाख ६५ हजार ६९ को करीब ६२ प्रतिशत प्रगति भएको बताए । उहाँले सर्वोच्च अदालतमा कुल लगतको ३२ दशममलव ३५ प्रतिशत, उच्च अदालतमा कुल लगतको ५३ दशमलव ७१ प्रतिशत र जिल्ला अदालतमा कुल लगतको ४६ दशमलव ५५ प्रतिशत मुद्दा फछर्यौट भएको बताए ।