सर्वोच्चद्वारा विएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन नदिनुको कारण माग


काठमाडौं । सर्वोच्च अदालतले झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिनुको कारणसहित लिखित जवाफ पेश गर्न नेपाल सरकार र चिकित्सा शिक्षा आयोगलाई आदेश दिएको छ । मेडिकल कलेजले सबै प्रक्रिया पूरा भएर पनि सम्बन्धन नपाएको भन्दै संचालक दुर्गा प्रसाईले हालेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले त्यस्तो आदेश दिएको हो ।

२३ असारमा सर्वोच्चका प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको एकल इजलासले विएण्डसीलाई सम्बन्धन दिन रोक्नुपर्ने कारणसहित लिखित जवाफ १५ दिन भित्र पेश गर्न आदेश दिएको थियो । एकल इजलासले निवेदन सार्वजनिक महत्व भएको कारण मुद्धालाई अग्राधिकार प्रदान गरेको उल्लेख छ । प्रसाईले दिएको रिटमा प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, काठमाडौं विश्वविद्यालय र मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो । प्रसाई आफूले सबै कानुनी प्रक्रिया पूरा गरेको हुँदा तकाल सम्बन्धन पाउनुपर्ने जिकिर गर्दै आएका छन् ।