सरिता गिरी साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित
काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
त्यसैअनुसार पदाधिकारी बैठकले गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन् । अब पार्टीले गिरीमाथिको कारबाहीबारे संसदलाई जानकारी गराउनेछ र सांसद पदबाट हटाउन भन्नेछ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।