सबैलाई न्यायको प्रत्याभूति गराउनेतर्फ सरकार सचेतः कानुनमन्त्री तुम्बाहाम्फे
काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सबै जनतामा न्यायको पहुँच पुर्याउने सवालमा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री तुम्बाहाम्फेले पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको र सबैलाई न्यायको प्रत्याभूति गराउनेतर्फ सरकार सचेत रहेको बताएकी हुन् ।
तुम्बाहाङ्फेले नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानून बनाउन नसकिने स्पष्ट पारिन् । छलफलमा केही सांसदले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था आवश्यक भएको बताएका थिए । जवाफमा उनले यस्ता कुरा उठान गर्दा संविधानले के भनेको छ ख्याल गर्नुपर्ने बताइन् ।
उनले मौलिक हकसंग जोडिएका ऐन कार्यान्वयनका लागि आवश्यक नियमावलीहरु बन्ने क्रममा रहेका जानकारी दिँदै उनले २ वटा ऐनको नियमावली बनाउन आवश्यक नभएको र बाकी १४ वटा मध्ये आवासको अधिकार सम्बन्धी ऐन र खाद्य अधिकार तथ खाद्य सम्प्रभुता सम्बन्धी ऐनको नियमावली अन्तिम चरणमा पुगेको बताइन् ।
उनले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको नियमावलीबारे कृषि तथा पशुपंक्षी मन्त्रालयले आफ्नो काम गरिसकेको र खुलेपछि प्रदेश र स्थानीय तहसंग छलफल गरेर अन्तिम टुंगो लगाईने जानकारी दिइन् ।