बैतडीमा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ । भारतबाट फर्किएकै दिन उनको मृत्यु भएको हो । पाटन नगरपालिका–६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती पुरुषको राति क्वारेन्टाइनमै मृत्यु भएको हो । साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको बताइको छ । मृतकको स्वाबको नमूना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ ।
उनीसँगै बेंगलोरबाट १३ जना पनि शनिबारै बिहानै पाटन पुगेका थिए । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन् ।
यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको जेठ २० मा मृत्यु भएको थियो । पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ बर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।