जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अरु पदमा को ?


काठमाडौं । जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित भएका छन् । वीरगञ्जमा भएको पार्टीको महाधिवेशनले राउतलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतको पक्षमा पनि मतदान भएको थियो ।

यसैगरी उपाध्यक्षमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) विजयी भएका छन् ।

उपाध्यक्ष पदमा ११ जना प्रतिस्पर्धामा थिए । त्यस्तै, महासचिव पदमा सञ्जयकुमार यादव (सिरहा) निर्वाचित भएका छन् ।