काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्ममा भएको घटनाको छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि गुल्मका गुल्मपतिसहित सबैलाई हेटक्वार्टर तानेको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीहरुलाई हेडक्वार्टर झिकाइएको जानकारी दिएका छन् । चैत्र ४ गते भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर केही तस्कर समूह अनाधिकृत रुपमा सशस्त्र प्रहरी बलको कार्यालय भित्र प्रवेश गरी गुल्मपतिमाथि हातपातको प्रयास गर्दा समेत बल प्रयोग नगरेको तथा युनिटको आवश्यक सुरक्षा अपनाएको नदेखिएपछि उनीहरुलाई प्रधान कार्यालय झिकाइएको हो ।
कार्यालयभित्र छिरेर कमाण्डरमाथि हातपातको प्रयास हुँदा समेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीररुपमा छानबिन गर्ने उनले बताए ।
तस्कर समूह सशस्त्र प्रहरी बलको कार्यालय भित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तस्करी रोक्न बिगत देखिनै उत्कृष्ट कार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भएपनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपुर्याएको प्रधान कार्यालयको ठहर छ ।
यसअघि सो घटनाको विषयमा छानबिन गर्नको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ ।
तत्काल घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट टोली बदली समेत गरिएको प्रवक्ता भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया