भक्तपुर। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण आवश्यक रहेको बताएकी छन्। त्यसका लागि नेपाल बार एसोसियन, बार एकाइ, कानुन व्यवसायी महिला र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताइन् ।
शुक्रबारदेखि यहाँ सुरु भएको नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ न्यायाधीश मल्लले न्यायपालिकाको सुदृढीकरणमा हातेमालो गर्दै अगाडि जानुपर्नेमा जोड दिइन् । उनले न्यायको क्षेत्रमा महिला अझै पछि परेको उल्लेख गरिन् ।
महिलामाथि हुने मानसिक तथा शारीरिक हिंसाको अन्त्य आवश्यक रहेको भन्दै उनले यसलाई रोक्न कडाइका साथ कानुन कार्यान्वयन आवश्यक रहेको बताइन् । महिलालाई कानुनका बारेमा जानकारी नहुँदा न्याय पाउन ढिलो हुने गरेको उल्लेख गर्दै उनले न्यायका लागि महिलालाई कानुनी चेतनाका अभियान अगाडि सार्नुपर्ने औँल्याइन्।
कार्यक्रममा नेपाल बार एसोसिएसन, न्याय परिषद्का सदस्यहरू, विभिन्न जिल्ला अदालतका न्यायाधीशहरू, विशेष अदालत बार एसोसिएनका प्रतिनिधि, कानुन व्यवसायी महिलाका प्रतिनिधि एवं पदाधिकारीले महिलाको सहभागिता रहेको थियो। सहभागीले हिंसा अन्त्यका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा उत्कृष्ट महिला कानुन व्यवसायीलाई सम्मानसमेत गरिएको छ।
शनिबारसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा ७७ वटै जिल्लाबाट ७०० प्रतिनिधिको सहभागिता रहेको र आज विभिन्न प्रतिवेदनमाथि छलफल गरी भोलि घोषणापत्र सार्वजनिक गरिने कार्यक्रमकी सभापति एवं अध्यक्ष सरस्वती श्रेष्ठले बताइन् ।

प्रतिक्रिया