म समानुपातिक सांसदमा सिफारिस नभएर केही भएन, देशले हार्नु हुँदैनः ज्ञानेन्द्र मल्ल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल समेटिएका थिए । तर अहिले सांसदको सिफारिसमा भने परेनन् । समानुपातिकतर्फ ५७ सिट पाएको रास्वपाले आफूलाई सिफारिस नगरेपछि उनले सामाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

मल्लले आफू हुनु नहुनु भन्दा पनि देशले हार्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘क्रिकेटबाट मैले सिकेको कुरा ‘मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन।’ खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

त्यस्तै उनले निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘यस निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्नुहुने सम्पूर्ण आदरणीय मतदाताहरूमा हृदयदेखि नै धन्यवाद। मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेन जी प्रति विशेष कृतज्ञता व्यक्त गर्दछु । म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकी अन्त्यमा, व्यक्तिको हार–जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो।’