काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनका पदाधिकारीका अभिव्यक्तिले गर्दा यसको भविष्यबारे अन्यौल भएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन–आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै प्रधानमन्त्री ओलीले मदनको जन्मजयन्ती मनाउन नपाइएको बेला बनेको संस्था अहिले पार्टी हित विपरीत लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
उनले आगामी दिनमा मदन भण्डारी फाउण्डेशन कसरी जान्छ भन्ने हेर्नुपर्ने भन्दै चक्रपथ भन्ने अनलाइनको प्रस्तुति हेर्दा अन्योल रहेको बताए । फाउण्डेशनले आन्दोलनको नाममा काम गर्छ कि ठगी खाने भाँडो हुन्छ कि भन्दै उनले आन्दोलनको विपरीत हुने गरी प्रयोग गर्नु उचित नहुने बताए ।
उनले भने, ‘मदन–आश्रितको जन्मदिन मनाउन नपाइने स्थिति बन्यो, श्रद्धाञ्जली दिन नपाइने अवस्था भयो । जन्मदिनको अघि विकृतिपूर्ण लेख लिडरसीपबाट लेखिने र प्रकाशित हुन थालेपछि एउटा संस्था बनाउनु पर्यो भनेर जन्मिएको हो मदन भण्डारी फाउण्डेशन । मदनका विचारसँग असहमत रहेर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रिपमा नगएको मात्र हो, पार्टी र आन्दोलनको पक्षमा हो ।’
मदन भण्डारी फाउण्डेशनको संरक्षक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छन् भने अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी छन्।
कार्यक्रममा अध्यक्ष ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीसहित उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहाललाई शपथ खुवाएका थिए ।

प्रतिक्रिया