लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीचको युद्ध रोकिएको दाबी गरेका छन् ।
सोमबार लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले कुरा गरेर हात हालाहालको स्थिति रोकिएको दाबी गरेका हुन् । प्रधानमन्त्रीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिए ।
उनले भने, ‘हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ, उहाँहरूसँग पनि कुरा गर्यौँ। नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’
प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।
उनले मासडिस्ट्रक्सनका हतियारहरुको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए ।
उनले खतरनाक हतियारबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुुपर्ने बताए । उनले बुद्धका मुख्य उपदेशहरु र आदर्शहरुलाई समाउनु पर्ने भन्दै लुम्बिनी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए ।
उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना बुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

प्रतिक्रिया