कांग्रेसले भन्यो-आतंकवादविरुद्धको भारतको कारबाही जायज
काठमाडौं । नेपाली कांग्रेसले भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको बताएको छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भारतको कारबाही जायज भन्दै आतंकवादको विरुद्धमा उभिने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सधैँ आतंकवादविरुद्धमा रहेको उल्लेख गर्दै भारत पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा रहेको बताए ।
उनले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठानेका छौं । हामी चाहछौं कि भारत र पाकिस्तानको द्वन्द्वले युद्ध ननिम्तियोस् ।’
पहलगाम हमलापछि भारत र पाकिस्तानबीच अहिले तनाव बढेको छ । दुबैतर्फबाट एक अर्कालाई आक्रमण भइरहेका छन् । भारत पाकिस्तान तनावले यतिबेला विश्व समुदाय चिन्तित बनेको छ । अमेरिका र चीनले दुबै पक्षलाई संयम हुन र वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् ।