प्रधानमन्त्रीलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रहः थप क्षति नबेहोर्न सम्झौताका लागि तयार हुनुस्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने दाबी गरेका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने दाबी गरेका हुन् । उनले देशले थप क्षति नबेहोर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताको लागि तयारी गर्न आग्रह गरे ।
उनले भने,‘जेठ १५ गतेदेखि गरिने आन्दोलन अब निष्कर्षमा नपुगी छोड्नेवाला छैनौं । अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको लागि आग्रह गर्दछु । समय छ सम्झौताको लागि तयारी गर्नुहोस् ।’
उनले आफूहरुको प्रस्तावलाई अन्देखा गरी दमनको सहारा लिएमा बढारिनुपर्ने परिस्थिति आउनसक्ने चेतावनी दिए ।
उनले भने, ‘राजादेखि सबै अटाउने व्यवस्था निर्माण गरौं, कसैले देशमा आफू निषेधित भएको महसुस गर्न नपरोस् । यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नुभयो भने बढारिनुपर्ने परिस्थिति आउनसक्छ ।’