नीति तथा कार्यक्रममा कुनै उत्साह र रौनक छैनः स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले कुनै ध्यान नदिएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै वाग्लेले सरकार गठन भएको १० महिनापछि पनि नीति तथा कार्यक्रममा पुरानै योजना राखेको बताए ।
उनले महत्त्वपूर्ण विषयभन्दा ‘रुटिन’जस्तो नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य नभएको आरोप लगाए ।
उनले भने, ‘नीति तथा कार्यक्रम हेर्दा आफ्नो शक्ति नै थाहा नपाएको जस्तो महसुस हुन्छ । कुनै उत्साह छैन। कुनै रौनक छैन। विराट उद्देश्य हुनुपर्ने हो । लगभग शून्य छ।’
उपसभापति वाग्लेले दुई दलको सरकार गठन हुँदा गरिएको ७ बुँदे सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने कुरा राखिएको भए पनि त्यो अहिले मजाक जस्तै भइरहेको बताए ।
उनले भने,‘सात बुँदेमा भनिएको थियो, हामी भ्रष्टाचार गर्दैनौँ, सुशासन दिन्छौँ । त्यो एउटा मजाक भइसकेको छ।’
उनले सरकारको कामकारबाहीप्रति अनौपचारिकरुपमा बुझ्दा सत्तारुढ दलमै ठूलो निराशा भएको आफूले पाएको बताए ।