कुलमानको बर्खास्त सेनापति हटाएजस्तो होइनः सचिव भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई सरकारले हटाएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुटुमा नै गोली लागेजस्तो भएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले काम गर्ने ट्युनिङ नमिलेपछि सरकारले कुलमान हटाएको भन्दै यस विषयमा प्रचण्डले टाउको दुखाउनु नपर्ने बताएका हुन् ।
उनले विगतमा आफूले मुख्यसचिव बनाउँदा गरेको निर्णय र प्रधानसेनापति हटाएको विषय स्मरण गर्नपनि प्रचण्डलाई आग्रह गरे ।
उनले भने, ‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ? एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होइन । यस्ताखाले बेथितिहरु आफ्नो पालामा भएका छन् । एकपटक स्मरण गर्नुस् ।’
उनले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रचण्डलाई आग्रह गरे । सोमबारको बैठकमा प्रचण्डले सरकारकोबारेमा आलोचना गरेका थिए ।
त्यसको जवाफ दिँदै भट्टराईले भने, ‘प्रचण्डजी यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलियाले चलाएको छ भन्नु हुन्छ । उहाँलाई मेरो यति मात्रै सुझाव छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नहोस् ।’
उनले संविधानको धारा ७६ अनुसार प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्राकृतिक हुने तर त्यही व्यवस्था अनुसार केपी ओलीको नेतृत्वमा सरकार बन्दा कसरी असंवैधानिक हुन्छ भन्दै प्रश्न गरे ।
त्यस्तै सचिव भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाए । उनले यस्ता घटना हुनु दुःखद भएको भन्दै आगामी दिनमा यस्तो नदोहोरिने सुनिश्चितता गर्न आग्रह गरेका छन् ।