दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याउन नहुने एमाले सचिवालय बैठकको निष्कर्ष
काठमाडौं । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
आइतबार बसेको सचिवालय बैठकले योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल भएकाले बजेट ठोस र परिणाममूखी ढंगबाट आउनुपर्ने सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले विगतमा योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल देखिएको बताए ।
उनले भने, ‘मूलतः नीति कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणाममूखी होस् । विगतमा योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल देखिएको छ । भद्रगोललाई चिर्दै बजेट आओस् ।’
साथै एमालेले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ । उपमहासचिव ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए ।
उनले भने, ‘दलहरूभित्र कतिपय आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन हुँदैन भन्ने लाग्छ । दलभित्रका समस्या आफ्ना ठाउँमा होलान् । हाम्रो पार्टीभित्र केही समस्या छ भने समाधान गर्ने दायित्व हाम्रो हो । अरु पार्टीसँग समस्या छ भने उहाँहरूले समाधान गर्ने हो ।’
बैठकले राजनीतिक स्थायित्व खल्बल्याउन खोज्ने पक्ष कमजोर भएको निष्कर्ष पनि निकालेको छ ।