सक्रिय हुन खोजेका राजावादी शक्तिलाई समाजवादी मोर्चाले परास्त गरेको माधव नेपालको दाबी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताएका छन् ।
शनिबार नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले वर्तमान राजनीतिक परिस्थितिमा राजावादी शक्तिहरू पुनः सक्रिय हुन खोजेको बताए । उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टी आफ्नो तरिकाबाट भूमिका खेलिरहेको छ । अहिले राजावादी शक्तिहरुले टाउको उठाउन खोजेका छन् । झण्डै उनीहरु हावी होलान् की भन्ने भैइसक्या थियो । त्यस्तो बेलामा हामीले समाजवादी मोर्चालाई अगाडि बढाएर परास्त गर्ने काम गर्यौं ।’
उनले पार्टी सानो वा कमजोर भएको मानसिकता त्याग्नुपर्नेमा जोड दिए । उनले अरूलाई सिध्याएर नभई प्रतिस्पर्धामार्फत जनताको विश्वास जित्दै अगाडि बढ्ने बताए ।
उनले भने,‘हामी प्रतिस्पर्धाको राजनीतिबाटै अगाडि बढ्छौं । बहुदलीय प्रतिस्पर्धाबाटै अगाडि बढ्छौं । निर्दलीय, एकदलीय शासनको पक्षमा हुने छैनौं । दुई दलीय व्यवस्थाको वकालत गर्नेलाई चुनौती दिन्छौं ।’