केआईआईटी जस्ता शैक्षिक संस्थाहरू हाम्रा विद्यार्थीका लागि किन असुरक्षित छन् ?
-सुमना श्रेष्ठ ।
केआईआईटीमा फेरि पनि एकजना नेपाली बहिनीले आत्महत्या गरेकी छिन् । हिजोराति त्यहाँ अध्ययनरत विद्यार्थीबाट यो दुःखद खबर प्राप्त गर्दा मन फेरि क्षतविक्षत भएको छ। अढाई महिना पनि भएको छैन प्रकृति लम्साल बहिनीको आत्महत्या र अहिले फेरि प्रिसा साहको यस्तो खबर ! प्रिसालाई हार्दिक श्रद्धान्जली व्यक्त गर्दै बहिनीका परिवारलाई यस्तो दुःखद घडीसँग जुध्न सक्ने हिम्मत मिलोस् भन्ने पनि प्रार्थना गर्दछु । तर निकै नै गम्भीर प्रश्न छ– के केआईआईटी जस्ता शैक्षिक संस्थाहरू हाम्रा विद्यार्थीका लागि सुरक्षित छन् ?
दुई जना छात्राले आत्महत्या गरेका छन्। हिजो बेलुका नै एक जना भारतीय छात्राले आफू र आफ्ना साथीहरूले क्याम्पसको प्राङ्गणभित्र, विश्वविद्यालयको सुराक्षाकर्मीहरू कै अगाडि यौन दुव्र्यवहार र चक्कु आतंकको शिकार बन्नु परेको कुरा लेखेकी छिन् । अझ अन्य विद्यार्थी भन्छन्, ‘अहिले त्यहाँको इन्टरनेटको नेटवर्कमा फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल नचल्ने बनाइएको छ। विद्यार्थीलाई सूचना आदनप्रदान गर्नबाट समेत वञ्चित गरिँदै छ।’
प्रधानमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू र परराष्ट्रमन्त्रीज्यू, तपाईंहरूको ध्यानाकर्षण गराउन पत्र समेत पठाएकी छु । कृपया विद्यार्थीलाई आवश्यक मानसिक तथा शारीरिक हरेक रूपमा सुरक्षित हुने वातावरण बनाइदिनु होला । नेपाल फर्कन चाहनेलाई फर्किन हरतरहले सहजीकरण गरिदिनुहोला । भारतसँगको यहाँहरूको सामिप्यताको तस्बिर राख्नुहुन्छ, अब विद्यार्थीका लागि पनि जिम्मेवारीबोध गरिदिनुहोला ।
अभिभावकज्यू, छोराछोरीलाई नेपालमा पढाउन चाहनुहुन्छ भने नेपाली विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर (त्यहाँको पढेको साल यता पनि गणना हुने) सुविधा पनि उपलब्ध छ र यहाँ आवश्यक पर्ने कुनै पनि सहजीकरण गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न हामी छौँ नै । विद्यार्थीको पढाई प्राथमिकता हो तर त्यो भन्दा पहिले सुरक्षा महत्त्वपूर्ण छ ।