केआईआईटीमा नेपाली विद्यार्थी मृत्यु छानबिनका लागि सरकारले कुटनीतिक पहल थालिसक्योः परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह मृत्यु घटनाको छानबिनका लागि कुटनीतिक पहल थालेको बताएकी छन् ।
शुक्रबार बिहान सामाजिक संजालमार्फत मन्त्री राणाले परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन् ।
उनले प्रिसा आफ्नै होस्टल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको उल्लेख गरेकी छन् । कलेजको होस्टलमा बिहीबार साँझ प्रिसा मृत फेला परेकी हुन् ।
उनी स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको बताइएको छ । नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । केआईआईटी अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् ।