सीतामढीमा मामाकी छोरीको विवाहमा खेलौना पेस्तोल फायरको विषयलाई अतिरञ्जित नगरिदिन बबी सिंहको आग्रह
काठमाडौँ । पेस्तोल डान्स गरी भाइरल बनेकी जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादवले आफूले खेलौना पेस्तोल चलाएको दाबी गरेकी छन् ।
बिहीबार सामाजिक संजालमार्फत यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसप्रति आपत्ति जनाएकी हुन् ।
उनले भनेकी छन्, ‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु।’
उनले वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार सबैलाई हुने समेत विज्ञप्तिमा उल्लेख गरेकी छन् । यादवले पेस्तोल डान्स गरेको दृष्य सार्वजनिक भएपछि प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पेस्तोल पड्काएर नृत्य गरेको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि बोलाएको जानकारी दिएका छन्् ।
यस्तो छ सिंहको भनाई
हिजोदेखि सामाजिक सञ्जालमा भाइरल बनाइएको एक भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरुको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।
मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एकछिन भाइबहिनी र परिवारका सदस्यहरुसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘यूट्युब पत्रकार’ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भत्र्सना गर्दछु । साथै, वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार के पुरुषहरुको मात्रै हो ? महिलाले एक छिन नृत्य गर्दा वा रमाइलो गर्दा आकाश नै खसेकोजस्तो सोच्ने पितृसत्तात्मक मानसिकताप्रति म गहिरो खेद प्रकट गर्दछु । धन्यवाद !