किन गर्छ सचिवालयले प्रधानमन्त्री देउवाको यसरी प्रचार ?


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंसा गरिएको भिडियो उनको सचिवालयले सामाजिक संजालमा राखेको प्रति पार्टीभित्रैबाट विरोध भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका भएका बेला आउने भिडियो र पोष्टर जसरी प्रधानमन्त्री देउवाको सचिवालयले पनि राख्न थालेपछि त्यसको पार्टी भित्रैबाट विरोध भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो प्रधानमन्त्रीले काम गर्ने बेला भएको भन्दै राम्रो काम गरेपछि जनता आफैंले भिडियो बनाउने बताएका छन् । उनले भनेका छन्, प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सही सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैले बनाउने छन् भिडियो , नत्र पार्टीले बनाउला ! पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएको छु ।जय नेपाल ! खोपदेखि भोटसम्मझको यो यात्रा तीन तहको निर्वाचनमार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ । जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ ! परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन्।’

त्यस्तै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पनि प्रधानमन्त्रीको सचिवालयको कामप्रति असन्तुष्टि जनाएका छन् । उनले लेखेका छन्, ‘जीवनको हरेक क्षण देश,जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताका बीचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सन्जालमार्फत सुरु गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई बिशेष अनुरोध गर्दछु ।’