विप्लवले द्वन्द्व छाडेर राष्ट्रिय राजनीतिमा आउँछु भन्दा केहीलाई छटपटी भएको छः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारले शान्तिपूर्ण राजनीतिमा ल्याउने बताएका छन् । आइतबार काठमाडौंको दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवले वार्ताप्रति देखाएको तत्परतालाई सकारात्मकरुपमा ग्रहण गर्नुपर्ने बताए ।

उनले विप्लवले द्वन्द्व छाडेर राष्ट्रिय राजनीतिमा आउँछु भन्दा केहीलाई छटपटी भएको बताए । अहिलेजस्तै पृथकतावादको नारा लगाएको सीके राउत समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा पनि एउटा समूह असन्तुष्ट रहेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले आफूले लोकप्रियताका लागि काम नगरेको बताए ।

प्रधानमन्त्रीले कोरोना भाइरसविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क लगाउने प्रतिबद्धता पनि जनाए । पहाडका केही ठाउँ बाहेक दुर्गम नहुने गरी नेपालमा विकासका कामहरु भएको बताउँदै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र थप विकासको फड्को मार्ने उल्लेख गरे ।