असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् । शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान पनि नमिच्ने बताएका हुन् ।

उनले नेपाली जनताको विकास, सुशासन र सुखी जीवनको चाहना प्राप्तीका लागि सक्रियताका कारण फागुन ७ लाई हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा सगौरव मनाइँदै आएको बताए । उनले भने, ‘सरकार लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिचिँदैन । जनताको अभिमत भन्दा विपरित जाँदैन र जान पनि दिँदैन । भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रका मूल्य र मान्यताबाट कोही भाग्न नसक्ने भन्दै राजनीतिक धारमा आउन बाँकी रहेकाहरुलाई मूल धारमा आउन आग्रह गरे । प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउने र विधिसम्मत अघि बढ्ने बाटो निर्वाचन भएकाले सरकारले तोकेकै मितिमा निर्वाचन हुने भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरे ।

उनले भने, ‘अस्थिरता लोकतान्त्रिक प्रणालीभित्रैबाट अस्थिरता खोज्नेहरुलाई निस्तेज गर्न र कुबाटोमा लोकतन्त्रलाई धकेल्नबाट नयाँ निर्वाचन घोषणा गरिएको छ । लोकतन्त्रलाई अलमलमा पार्ने कुनै काम हुन सक्दैन ।’

शहिदहरुको वलिदान र जनताको संघर्षबाट प्राप्त लोकतन्त्रलाई अलमलमा पार्ने कसैको प्रयास पनि सफल नहुने प्रधानमन्त्रीले स्पष्ट गरे।

बैशाख १७ र २७ मा निर्धारण गरिएको मितिमा नै निर्वाचन हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा लाग्न सबै निकायलाइ आह्वान गरे।

त्यसबखत नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतका विभिन्न संघस्थाले मार्चपास, कवाज, व्याण्ड तथा विशेष झाँकीहरु प्रस्तुत गरेका थिए ।

सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने र त्योभन्दा अगाडि नै दिगो विकासका शर्त पूरा गर्ने अभियानका साथ सरकार अगाडि बढेको उल्लेख गर्दै उनले अबको प्रयासलाई तीव्र पारिने बताए।

संविधान जारी भएपछि जनताको अभिमतबाट गठित आफ्नो सरकारले जनताको पक्षमा अभूतपूर्व काम गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएको शुरुको वर्ष विकासको आधार वर्ष र अर्को वर्ष समृद्धि आरम्भको वर्षका रुपमा वितेको स्मरण गराए।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउने, लोकतन्त्रको मूल्य र मान्यता स्थापित गराउने सन्दर्भमा असाधारण उपलब्धि हासिल गरिएको बताए ।

“बितेका सात दशकमा नेपालमात्र नभई विश्व नै अत्यन्त तीव्र गतिका साथ अगाडि बढिरहेको छ, विज्ञान र प्रविधि, आर्थिक उन्नति र विविध क्षेत्रमा हामीले असाधारण उन्नति गरेका छौँ”, उनले भने, “अझै पनि केही शान्ति, विकास र सामाजिक न्याय र समानताको पक्षमा देशभित्रका नागरिकको पक्षमा अझै पनि थुप्रै काम बाँकी छ ।”