कांग्रेस केन्द्रीय सदस्यमा चुडालको उम्मेदवारी, विज्ञता र अनुभवलाई पार्टी नीतिसँग जोड्ने प्रतिबद्धता


काठमाडौं। अधिवक्ता काशीनाथ चुडालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (विषयविज्ञ) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

मोरङ क्षेत्र नं. ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित चुडालले कानुन तथा सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान, अनुभव र दक्षतालाई पार्टीको नीति निर्माण तथा संगठन सुदृढीकरणमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन् ।

लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय चुडाल सामाजिक सेवाका विभिन्न गतिविधिमा समेत संलग्न रहँदै आएका छन्। लायन्स क्लबमार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएका उनले व्यावसायिक तथा सामाजिक जीवनबाट प्राप्त अनुभवलाई पार्टीको केन्द्रीय तहमा नीतिगत योगदानसँग जोड्न चाहेको बताएका छन्।

चुडालले बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशमा राजनीतिक दलको नेतृत्व केवल सांगठनिक अनुभवमा मात्र सीमित नभई विभिन्न क्षेत्रको ज्ञान, विज्ञता र व्यावसायिक अनुभवसँग समेत जोडिनुपर्ने बताएका छन्। पार्टीभित्र विषयगत विज्ञताको प्रभावकारी उपयोग हुन सके समसामयिक विषयमा नीतिगत बहसलाई थप तथ्यपरक र परिणाममुखी बनाउन सहयोग पुग्ने उनको धारणा छ।

आफ्नो उम्मेदवारी व्यक्तिगत पदको आकांक्षाभन्दा पनि आफूले हासिल गरेको ज्ञान र अनुभवलाई पार्टीमार्फत सार्वजनिक हितमा उपयोग गर्ने अवसरका रूपमा लिएको चुडालको भनाइ छ।

“१५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (विषयविज्ञ) पदमा उम्मेदवारी दिँदैछु। कानुनी र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा उपयोग गर्ने मेरो उद्देश्य हो,” चुडालले भने।

केन्द्रीय नेतृत्वमा अवसर पाए कानुनी, सामाजिक तथा समसामयिक विषयमा पार्टीभित्र नीतिगत छलफललाई सुदृढ बनाउने, विषयगत विज्ञतालाई निर्णय प्रक्रियासँग जोड्ने र संगठनको कामलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने उनले बताएका छन्।

एलएलबी, एलएलएम अध्ययन गरेका तथा विद्यावारिधि शोधार्थी चुडालले ‘सहभागी हुँदैछु’ भन्ने सन्देशसहित महाधिवेशन प्रतिनिधिसमक्ष आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।